नियम १०
औषधिको समूह र उपसमूहमा विभाजन

(१) ऐनको दफा १७ बमोजिम औषधिहरू समूहीकृत गर्ने प्रयोजनको लागि औषधिहरूलाई समूह “क”, “ख” र “ग” मा विभाजन गरिएका छन् र प्रत्येक समूहमा उपसमूहहरू रहन सक्नेछन् । समूह “क”, “ख” र “ग” र सो अन्तर्गतको उपसमूहहरूमा रहने औषधिहरू अनुसूची–४ मा उल्लेख भए बमोजिम हुने छन्ः–

(२) उपनियम (१) बमोजिम विभाजन गरिएका समूहहरूमध्ये– (अ) समूह “क” मा लागू र विषालु औषधिहरू रहने छन् र समूह, “ख”
मा एण्टीबायोटिक्स हर्मोन्स आदि औषधि रहने छन् । यी समूहहरूका औषधिहरू चिकित्सकको प्रेस्क्रिप्शन अनुसार मात्र विक्री वितरण गर्नु पर्नेछ र यी औषधिहरू फर्मासिष्ट वा व्यवसायी आफैंले वा फर्मासिष्ट वा व्यवसायीमध्ये कुनै एकको उपस्थितिमा मात्र विक्री वितरण गर्नु पर्नेछ ।
(आ) समूह “ग” का औषधिहरू चिकित्सकको प्रेस्क्रिप्शन नभए पनि अनुभवको आधारमा कुनै पनि विक्रेताले विक्री–वितरण गर्न
सक्नेछन् र औषधि विक्री–वितरण गर्दा फर्मासिष्ट वा व्यवसायीको उपस्थिति अनिवार्य हुने छैन ।
(३) समूह “क” अन्तर्गतको–
(अ) उपसमूह १ मा सोही उपसमूहमा उल्लेखित लागू औषधिहरू र सोसँग सम्बन्धित कुनै पदार्थ (सव्स्टान्स) समावेश भएको
औषधिहरू रहनेछन् ।
(आ) उपसमूह २ मा सोही उपसमूहमा उल्लेखित कुनै सारतत्व वा सोसँग सम्बन्धित कुनै पदार्थ (सव्स्टान्स) समावेश भएको
विषालु औषधिहरू रहनेछन् ।
(४) समूह “ख” मा सोही समूहमा उल्लेखित कुनै सारतत्व वा सोसँग सम्बन्धित कुनै पदार्थ (सव्स्टान्स) समावेश भएका औषधिहरू रहने छन् ।
(५) समूह “ग” अन्तर्गतको,
(अ) उपसमूह १ मा सोही उपसमूहमा तोकिएका औषधिहरूको तोकिएको प्रतिशतसम्म समावेश भएका औषधिहरू रहने छन् ।
(आ) उपसमूह २ मा सोही उपसमूहमा उल्लेखित कुनै सारतत्व वा सोसँग सम्बन्धित कुनै पदार्थ (सव्स्टान्स) समावेश भएका
औषधिहरू रहने छन् ।